केन्याका प्रहरीले चोरीको अभियोगमा एउटा कुकुरलाइ पक्राउ गरेका छन् । कुकुरका मालिकले आफैँले पालेको कुकुरमाथि पैसा चोरीको आरोप लगाएपछि प्रहरीले उक्त कुकुरलाइ पक्राउ गरेको हो ।

नकारू शहरका २५ वर्षे रोबर्ट एन्जेरू शुरूमा आफैँले स्थानीय प्रहरी कार्यालयमा यो अभियोग दर्ता गराएका थिए । कुकुरले लगभग ३ हजार केन्याली सिलिङ (करिब २० पाउन्ड) झ्वाम पारेको आरोप लगाएका छन् ।

उनी काममा जानुअघि पैसालाइ आफूले सुत्ने ओछ्यानमा राखेका थिए । बिहान त्यहाँ राखेको पैसा बेलुकी घर भाडा तिर्न खोज्दा नपाएपछि छक्क परेका थिए । तर कुकुरले नै उनको पैसा चपाएको उनले कसरी थाहा पाए भने कुकुरले चपाउँदा–चपाउँदै केही नोटलाइ खोस्टासरह फ्याँकेको थियो । महिनाभरिको घर भाडा यसरी कुकुरले चपाएपछि न मार्नु न मर्नुको स्थितिमा रहेका रोबर्टले चोरीको अभियोग लगाउँदै प्रहरीकहाँ लगेका थिए । उनको प्रहरीलाइ आग्रह थियो, यस्तो पैसा चोर कुकुरलाइ केहीबेर भए पनि थुन्नु पर्यो ।

रमाइलो त के रह्यो भने उनले कुकुरलाइ पक्डाउन प्रहरीकहाँ पुग्दा प्रहरीले शुरूमा घुस नै मागे । हुन पनि मान्छे थुन्ने ठाउँमा, जनावरलाइ थुन्न अलिअलि नीति नियम पनि मिच्नु पर्छ, शायद यस्तै सोचेर त्यहाँका प्रहरीहरूले उनीसित ५० सिलिङ घुस चाहिएको थियो ।

तर पछि यो खबर स्थानीय अखबारमा छापिएपछि जिल्ला प्रहरी अधिकारीले त्यहाँका प्रहरी जवानको सातो मात्र लिएनन्, उनीहरूलाइ विभागीय कारवाहीसमेत अघि बढाए भने कुकुरधनीलाइ कुकुर जिम्मा दिन आदेश पनि दिए ।

प्रहरीले कुकुरलाइ थुनामा राखेको र कुकुरमालिकसँग घुस लिएको व्यापक आलोचना त भयो नै थुनामा राखेपछि पनि कुकुरलाइ कुकुरधनीले माफ गरेनन् । कुकुरलाइ उनले २० सिलिङमा बेच्न खोजिरहेको पनि समाचारमा जनाइएको छ ।