नमनकुमार शाही/दैलेख । भदौ ५ गते/दुई महिना अघिदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा थप तीनको मृत्यु भएपछि जिल्लामा झाडापखालको कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

<!–

Posted On : Saturday, August 22, 2009 | 04:59:28 PM

–>
झाडापखालाका कारण पछिल्लो पटक मृत्यु हुनेमा पादुका गाविस-९ निवासी ४० वर्षीया पाना बिक, सोही गाविस-८ निवासी २९ वर्षीय बिन्दा बिकको भदौ ४ गते र खरीगैरा गाविस-३ निवासी ३ वर्षीय तुल्क्षा सुनारको भदौ ५ गते मृत्यु भएको हो । पादुका गाविसमा मृत्यु भएका पाना बिक र बिन्दा बिकको स्वास्थ्य चौकीमा उपचार गराई घर फर्किएपश्चात मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा दुई महिनादेखि फैलिएको झाडापखाला नियन्त्रणका लागि बिभिन्न स्थानमा रहेका स्वास्थ्य सेवाबाट चौबिसै घण्टा उपचार सेवा उपलब्ध गराउँदा पनि अझै प्रकोप नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाको कारण सर्वसाधरणले ज्यान गुमाउनेक्रम नरोकिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रोगको प्रकोप केही गाविसमा कम भएको र केही नयाँ गाविसमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

दैलेख सुर्खेत सडक खण्ड पहिरोका कारण सुचारु सञ्चालनमा नआएपछि जिल्लामा औषधिको अभाव हुन नदिन नेपाली सेनाको हेलिकप्टरले औषधि जिल्लामा ल्याएको छ । दैलेख सुर्खेत सडक खण्ड सुचारु नभए पछि दैलेखकालागि ल्याइएको औषधि सुर्खेतमै थन्किएको थियो । झाडापखालाका बिरामी सदरमुकामस्थित नारायण नगरपालिका र खरीगैराम पछिल्लो समयमा बढेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । खरीगैरा र नारायण नगरपालिकामा मात्र तीन दिन भित्र २ जनाको मृत्यू भैसकेको छ भने बिरामीको सङ्ख्या पनि अत्याधिक बढेको छ ।