image

नयाँ पत्रिका

काठमाडौं, ५ भदौ

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनामा परामर्शदाता नियुक्तिका लागि माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव माग गर्ने भएको छ ।

तामाकोशी कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

तामाकोसीले परामर्शदाताका लागि पूर्वयोग्यतामा परेका कम्पनीसँग प्रस्ताव माग्ने भएको छ । माथिल्लो तामाकोसी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।

परामर्श सेवा दिन इच्छापत्र पेस गरेका १७ कम्पनीमध्ये तामाकोसीले ५ कम्पनीलाई पूर्वयोग्यतामा पारेको छ ।

तामाकोसीले ती कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गर्ने निर्णय गरेको छ । कम्पनीले एक साताभित्र त्यसका लागि सार्वजनिक सूचना जारी गर्ने तयारी थालेको छ ।

पाँच कम्पनीमा इटाली, स्विस, फ्रेन्च, क्यानेडाली र नर्वे तथा जर्मनीको संयुक्त कम्पनी छन् । इच्छापत्र पेस गर्नेमा दक्षिण एसियाली मुलुकका कम्पनी पनि थिए । अब प्राप्त हुने प्राविधिक र आर्थिक प्रस्तावमध्ये तामाकोसी कम्पनीले एक सहभागीलाई परामर्शदाता नियुक्त गर्नेछ ।

तामाकोसीको सिभिल इन्जिनियरिङ ठेक्काका लागि पूर्वयोग्यतामा परेका भारतीय र चिनियाँ गरी ६ कम्पनीसँग प्रस्ताव माग गरिससकेको छ ।

६८ किमि लामो परियोजनाको प्रवेशमार्गमध्ये अन्तिम २८.५ किमि सडक निर्माण एवम् दोलखा-सिंगटी क्षेत्रको करिब ३५ किमि सडक खण्ड स्तरोन्नति कार्य चालू रहेको कम्पनीले जनाएको छ । यसैगरी ७ सय मिटर प्रवेश सुरुङ निर्माण स्थानीय हिमाल हाइड्रोद्वारा भइरहेको छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

परियोजना निर्माणका लागि कर्मचारी सञ्चयकोषले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर गरी १२ अर्ब, हिमालयन बैंकको नेतृत्वमा वाणिज्य बैकको समूहले ६ अर्ब रुपैयाँ ऋण र नागरिक लगानी कोषले दुई अर्ब रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएका छन् । तर, ऋण सम्झौता भने भइसकेको छैन । त्यस्तै, तामाकोसीले राष्ट्रिय बिमा संस्थानसँग पनि दुई अर्ब रुपैयाँ कर्जा लिने प्रयास गरिरहेको छ ।