नेपाल टेलिकम नेपालगन्जका ग्राहक मोबाइलमा रिचार्ज गर्दा कालोसूचीमा परेका छन् । बाँके खजुराखुर्द गाविससचिव शशिधर पोखरेल टेलिकमले बिक्री गरेको २ सय रुपैयाँको कार्ड रिचार्ज गर्दा कालोसूचीमा परेका हुन् । ‘कार्ड रिचार्ज भयो । तर, मैले प्रयोग गर्ने मोबाइललाई कालोसूचीमा राखियो । पाँच दिनदेखि मोबाइल बन्द छ,’ उनले शुक्रबार पत्रकार सम्मेलनमा भने । सचिव पोखरेलले पाँच दिनअघि बजारबाट २ सय रुपैयाँको रिचार्ज किनेको बताए । ‘मैले आफै कार्ड स्क्रेच गरेर पिन नम्बर डायल गरें । रिजार्च भए/नभएको हेरें,’ उनले भने, ‘एकैपटक कालोसूचीमा परेको सन्देश आयो ।’ उनले ३४११४५८०८६१५२ को रिचार्ज कार्ड प्रयोग गरेका थिए ।

टेलिकम कार्यालयमा हेर्दा उनको मोबाइलमा सो रकम ट्रान्सफर भएको देखिए पनि कालोसूचीमा कसरी पर्‍यो त्यसको जवाफ टेलिकमले दिन नसकेपछि पोखरेलले पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेका हुन् । उनले प्रयोग गरेको मोबाइल ९८४८०४६४०५ अझै बन्द छ । ‘उपभोक्तालाई टेलिकमले ठग्यो,’ उनको आरोप छ । समस्या नेपाल टेलिकम नेपालगन्ज र क्षेत्रीय कार्यालयमा जानकारी गराए पनि अनविज्ञ रहेको जवाफ पाएको उनले बताए । टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख नामाकर न्यौपानेले प्रयोग भइसकेको कार्ड पुनः प्रयोग गरे कालोसूचीको लिस्टमा पर्ने बताए । ‘हाम्रो सिस्टमले प्रयोग गरेको कार्ड फेरि प्रयोग गरे त्यस्तो हुन्छ,’ उनले भने । टेलिकमको लापरवाहीपछि सो मुद्दा उपभोक्ता मञ्चसमक्ष पुगेको छ । मञ्चअध्यक्ष डा.नारायण सुवेदीले यसबारे टेलिकमसँग छलफल गर्ने बताएका छन् ।